जुन दसैँले बालाई लिएर गयो

दसैँ कस्तो लाग्छ भनेर कसैले सोधिहाल्यो भने मेरो रेडिमेड जवाफ हुन्छ, ‘साह्रै खल्लो, नरमाइलो ।’ ठीक ११ वर्ष पहिलेदेखि फेरिएको जवाफ हो यो । ०६४ साल कात्तिक १० गते । जुन दिन मेरो निधारबाट टीका खोसियो । टीका मात्र खोसिएन, मेरा लागि आशीर्वादका शब्दहरू निस्कने ओठ खोसियो, जुन ओठको बाटो भएर हरेक बिहान खुसीको घाम झुल्कन्थ्यो ।

हरेक साँझ आशाको जून उदाउँथ्यो । अक्षता बोकेर मेरो निधारसम्म आइपुग्ने हातहरू लगिदियो, जुन हातले मेरो जीवनको पहिलो गोरेटो खनेको थियो । हो, त्यही कात्तिक १० गतेले मेरो बालाई सदाका लागि लगिदियो । र, दसैँका लागि सधैँ मेरो उही उत्तर हुन्छ, ‘साह्रै खल्लो, नरमाइलो ।’ कस्तो नमीठो याद । कति तीतो यथार्थ । सहिनसक्नु क्षण । थाहा भएकै कुरा हो, मृत्यु सत्य हो । तर, तीतो, टर्रो हुने भनेको सत्य रहेछ ।

सुनिता खनाल
बा साह्रै बिरामी हुनुभयो । बिरामी पहिल्यैदेखि हुनुहुन्थ्यो । तर, कसैलाई थाहा दिनुभएन । रोगलाई आफैँभित्र लुकाउनुभयो । छोराछोरीको भोक मेटाउन आफ्नै सपनाको भोग दिइरहनुभयो । एउटा पिता हुनुको जिम्मेवारी जति हुन्छ त्योभन्दा कैयौँगुणा ज्यादा निभाउनुभयो । आमा भन्नुहुन्थ्यो, ‘तेरो बालाई काम गर्न पाएपछि भोक लाग्दैन । निद्रा लाग्दैन ।’

त्यही सालको असार । दुखेको पेटलाई फेटाले बाँधेर बाले खेतमा आली लाउनुभयो, बाउसे गर्नुभयो । खेतको काम सकिएपछि बाले पहिलोपटक भन्नुभयो, ‘मलाई पेट दुख्यो ।’ जीवनमा कहिल्यै कतै दुख्यो नभन्ने बाले पीडाको चरम बिन्दुमा पुगेर मुख खोल्नुभयो । औषधि खान भनेपछि बालाई ज्वरो आउँथ्यो । आमाले घरमै जडीबुटीको झोल खुवाउनुभयो । केही सीप लागेन । पीडा झन्–झन् बढ्यो । आमाले भन्नुभयो, ‘तेरो बा साह्रै बिरामी हुनुहुन्छ, काठमाडौं पठाउन सकिनँ । जानै मान्नुहुन्न ।’

म तुरुन्त घर गएर बालाई उपचारका लागि काठमाडौं ल्याएँ । ग्यास्ट्रिक हो भनियो । नरदेवीको आयुर्वेद अस्पतालमा एक महिना राखियो । सुधार होइन, झन् गल्नुभयो बा । भदौको महिना थियो । दाइ नेपाल प्रहरीमा आबद्ध हुनुभएकाले प्रहरी अस्पतालमा भर्ना गरियो । दिनेशचन्द्र पोखरेल थिए बाको डाक्टर । सबै चेकअप भयो । बा प्राणघातक दुस्मन क्यान्सरसँग लड्दै रहेको कुरा खुल्यो ।

कलेजोको क्यान्सर, त्यो पनि फैलिइसकेको । सकेजति कोसिस गरे डाक्टरले । केही समय बचाउन सकिन्छ कि भनियो । त्यहाँबाट हरेक दिनजसो एम्बुलेन्समा राखेर अरू अस्पताल लगियो । दाजुको प्रशिक्षणकाल नै थियो । आक्कलझुक्कलबाहेक आउन नपाउने । म आइए पढ्दै थिएँ । सानो जागिर थियो । लामो समय अस्पताल बसेपछि त्यो जागिर रहेन । बाका निम्ति त्यस्ता हजार जागिर कुर्वान गर्न मन्जुर थियो मलाई । बस् मलाई बा भए पुग्थ्यो ।

बाको शरीर सुईले चाल्नोजस्तो बनिसकेको थियो । डाक्टरले मन बलियो बनाउन भनिसकेका थिए । कारण, बाको रोगसँग डाक्टरसमेत हारिसकेका थिए । दुई महिना अस्पतालमा बसेँ । अस्पतालको वातावरणसँग निकै नजिक भएँ । सबैलाई सकेको सहयोग गर्ने बानी त्यहीँबाट बस्यो । कात्तिक लाग्यो । दसैँ आयो । परिवार निराश भइसकेका थिए । त्योभन्दा ज्यादा म आमा सम्झेर रोएँ । उनको रित्तो गला, खाली सिउँदो र फेरिनेवाला पहिरन सम्झेर भक्कानिएँ ।

कतै अचानक चमत्कार भइदिए हुन्थ्यो जस्तो लाग्यो । घरलाई बाको नियास्रो लागिसकेको थियो । बालाई झन् घरको यादले सताइरहेको थियो । मैले बासँगै दसैँ मनाउन डाक्टरसँग माग गरेँ । सहमति भयो । घर लगियो । बा निकै टाठो जस्तो देखिनुभयो । घरमा सबै छोराछोरी मिलेर बलाई बच्चाझैँ नुहाइदियौँ । टीका लगाइयो । कता–कता मनमा लाग्यो, अब बालाई पूरै निको भयो । सबै आफन्त आए । टीका लगाए । आशीर्वाद दिनुभयो बाले । नौ गते पूर्णिमाको दिन, बालाई के लाग्यो खोइ, बाक्सामा राखेको पैसा निकालेर सबैलाई बाँड्नुभयो । आमालाई राम्रोसँग पाल्नू भनेर दाइलाई भन्नुभयो । सबै हाँसीखुसी दसैँ सकियो ।

कात्तिक १० गते बिहान बा एक्कासि मूर्छा पर्नुभयो । आत्तिनुभयो, रुनुभयो । बाको वाक्य बस्यो । सारा गाउँले जम्मा भए । रुवाबासी चल्यो । एक घन्टामा बाको प्राण गयो । संसार शून्य भयो । दसैँ आएपछि बाको याद चौगुणा भइदिन्छ । आशीर्वाद सम्झिएर मुटु भकानिन्छ । बा जानुभएदेखि हरेक साल दसैँ बाको तिथिको पहेँलो अक्षता बोकेर आइरहन्छ । मुटु भत्काएर गइरहन्छ । अब यही शृंखला चलिरहनेछ । नयाँ पत्रिकाबाट